निर्वाचनमा बुथ कब्जा गरियो, बम पड्काइयो; यस्तो पञ्चायतमा पनि भएको थिएन : केपी ओली

पिएनपि खबर

काठमाडौं, १२ जेठ: एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताइका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् ।

स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ? भन्दै उनले सत्ता गठबन्धनले निर्वाचनका नाममा लोकतन्त्रकै धज्जी उडाएको आरोप लगाए ।

‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो, उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको छ । बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ । उम्मेदवारका घरमा बम पड्काइएको छ । अनि के यो शान्तिपूर्ण भयो सबै ? कि घरका भित्ताका फेदमा बम पड्किनु सत्ता पक्षलाई अपजस लगाउन हो’ ओलीको प्रश्न छ ।

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उनले सधैँ सत्यको जित हुने बताए ।

प्रतिक्रिया