स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

admin

काठमाडौँ, १२ जेठ: स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।

सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो ।

दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो ।

प्रदेशगत आधारमा निर्वाचित महिला

प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो ।

गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो ।

आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो ।

प्रमुख पदमा महिला

देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो ।

मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो ।

सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो ।

त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो ।

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ ।

आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।

काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया