नेपालको विकास र समृद्धिमा योगदान दिन राजदुतको आग्रह

पिएनपि खबर

काठमाडौं, २५ जेठ : युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।

राजदूत ढकालले युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रममा उक्त आग्रह गरेका हुन् ।

‘सो अवसरमा मैले उहाँहरूलाई परराष्ट्र मन्त्रालयमा रहेको ब्रेन गेन सेन्टरमा आबद्ध भई मुलुकको विकास र समृद्धिमा आ–आफ्ना ठाउँबाट योगदान गर्न अनुरोध गरेको थिएँ,’ राजदूत ढकालले बताएका छन् ।

कार्यक्रममा उनीहरुले मातृभूमिप्रतिको अगाध प्रेम र आफूले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि आफ्नै देशमा सदुपयोग गर्ने चाहना व्यक्त गरेको उनले जनाए ।

पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष र दक्ष क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै गएको छ । युएइका प्रतिष्ठित एअरलाइन्सहरूमा दर्जनभन्दा बढी नेपाली पइलटहरू कार्यरत रहेका छन् । दर्जनौ डाक्टर, इन्जिनियर र नर्सहरू पनि युएईमा कार्यरत छन् ।

ठूलठूला बहुराष्ट्रिय कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा, चार्टर एकाउन्टेन्ट, वैज्ञानिक, प्राज्ञ, कार्यकारी सेफ, आइटीविज्ञ आदिको संख्या पनि बढ्दै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू