खुले ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल

admin

काठमाडौं, असार ३० : चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।

लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैन; आकाशगङ्गाका ताराहरूको जन्म र तिनको अन्त्यका रङ्गीन तस्बिर सार्वजनिक गरिदिएको छ ।

ब्रह्माण्डबारेका मानव कल्पनालाई यी तस्बिरले ठोस आकार दिएको छ । अनि खोलिदिएको छ; ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल ।

अन्तरिक्षको अनुसन्धानका लागि चर्चित नासाको वर्षौंको योजना र छ महिनायताको अथक मेहनतका परिणाम बनेका छन् यी तस्बिर ।

‘अनफोल्ड दी युनिभर्स’ नाम दिइएको यो परियोजनाका लागि नासाले १२ खर्ब रुपियाँ (करिब १० अर्ब अमेरिकी डलर)भन्दा बढी खर्च गरिसकेको छ । त्यही खर्चबाट निस्किएका तस्बिर नासाले अमेरिकाका राष्ट्रपति जो बाइडेनमार्फत सारा विश्वमाझ नेपाली समयअनुसार मङ्गलबार साँझपख सार्वजनिक गरेको हो । सार्वजनिक भएका चारै तस्बिरका आआफ्नै विशेषता छन् ।

नासाले सार्वजनिक गरेको क्यारिना नेबुला आकाशगङ्गाको तस्बिर झट्ट हेर्दा पहाड र आकाशको संयोजनजस्तो देखिन्छ ।

पृथ्वीबाट आठ हजार पाँच सय प्रकाशवर्ष टाढा रहेको यो आकाशगङ्गाको धुलो र ग्यासको पर्दापछाडि रहेका जवान ताराहरूको तस्बिर टेलिस्कोपले खिचेको हो । यसले ताराहरूको निर्माण प्रक्रियाको प्रारम्भिक जानकारी मिल्ने नासाले जनाएको छ ।

त्यस्तै सार्वजनिक भएको अर्को तस्बिरमा पाँचवटा आकाशगङ्गालाई एकै पटक कैद गरिएको छ । टेलिस्कोपले कैद गरेको यो सबैभन्दा ठूलो तस्बिर पनि हो ।

तस्बिरमा आकाशगङ्गाहरू एकअर्काका नजिक देखिन्छन्; जसलाई नासाले गुरुत्वाकर्षणको नृत्यका रूपमा वर्णन गरेको छ । यो तस्बिरमा १५ करोडभन्दा बढी पिक्सेल समावेश भएको नासाले जनाएको छ ।

धुलो र ग्यासको ठीक बीचमा तारा पर्ने गरी खिचिएको अर्को तस्बिरले पनि धेरैको ध्यान तानेको छ । रिङ नेबुला नामको यो आकाशगङ्गामा ताराहरू कसरी अन्त्य हुन्छन् र धुलो र ग्यासले घेरिँदै जान्छन् भन्ने देखाउँछ । नासाले सोमबार सार्वजनिक गरेको पहिलो तस्बिरले भने अर्बौं वर्षअघिका आकाशगङ्गाहरूको बृहत् तस्बिर समेट्छ; जहाँ चम्किला ताराहरू र रङ्गीन आकाशगङ्गाको पहिलो अनुभव लिन सकिन्छ ।

ब्रह्माण्डका यस्तै तस्बिर खिच्न र थप नयाँ जानकारी बटुल्न नासाले छ महिनाअघिदेखि टेलिस्कोपलाई अन्तरिक्षमा पठाउने नियमित प्रयत्न गरिरहेको हो । यद्यपि ब्रह्माण्डबारे थप जानकारी लिने योजनामा नासा विगत तीन दशकदेखि नै लागिपरेको छ । त्यही प्रयत्नले टेलिस्कोप निर्माणपछि मात्रै मूर्तरूप पाएको हो ।

यो टेलिस्कोपमा विभिन्न चार फरक उपकरण प्रयोग गरिएको छ; जसलाई फरक–फरक तस्बिर खिच्न प्रयोग गरिएको छ । यी चारै उपकरणको नाम पनि फरक–फरक राखिएको छ ।

विश्वकै अहिलेसम्मको सबैभन्दा शक्तिशाली यो टेलिस्कोपलाई युरोप र क्यानडाका अन्तरिक्षसँग सम्बन्धित संस्थासँगको सहकार्यमा सुरु गरिएको हो । सहकार्यको यो प्रारम्भिक नतिजालाई खगोल विज्ञानमा नयाँ युगको सुरुवात भनिएको छ ।

यी तस्बिर टेलिस्कोपले अन्तरिक्षको १६ लाख किलोमिटर दूरी पार गरेर खिचेको हो । टेलिस्कोपले जति दूरी पार गर्दै जानेछ; विश्व समुदाय ब्रह्माण्डका थप नयाँ र आश्चर्यलाग्दा तस्बिरबाट चकित हुन बाँकी नै छ । यो समाचार आजको गोरखा पत्र दैनिकमा छ ।

प्रतिक्रिया