आज गठेमङ्गल र घन्टाकर्ण पर्व मनाइँदै

admin

काठमाडौं, १० साउन : आज नेपाल सम्वतकाे तिथि अनुसार दिल्लागा चतुर्दशी । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ । आज गठेमङ्गल–गठाङ्मुग–घन्टाकर्ण–घन्टासुर र गाथामोग पर्व मनाइन्छ ।

कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ ।

नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका रुपमा बेतबाँसका गथांमुगः बनाएर राखिएका छन् । ती गथांमुगःहरुलाई बेलुका घरघरबाट विशेष तान्त्रिक विधिबाट पूजापछि घिसार्दै नजिकका खोला र नदीहरुका बगाइदिने गरिन्छ ।

आजकै दिन आफ्ना घरमा भूतप्रेतहरुले प्रवेश नगरोस् भनी फलामका किला काँटा लगायत प्याकिङ्ग भनिने विशेष प्रकारको काँटी टाँग्ने गरिन्छ ।

वर्षायामको खेतीपातीपछि आजकै दिनबाट केही समय फुर्सद निकालेर नेवाः समुदायमा सांस्कृतिक गतिविधि सुरु गरिन्छ ।

यो पर्वलाई किसानको रोपाइँ कार्य सम्पन्न भएको र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा लिने गरिएको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा यसलाई लिने गरिएको छ ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवम् संस्कृतिविद् डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

यो पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया