नेतालाई चुनाव जिताउन मात्र गठबन्धन होइन : मन्त्री कार्की

राष्ट्रिय समाचार समिति

काठमाडौं, साउन २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई चुनाव जिताउन मात्र नभएको बताउनुभएको छ ।

उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाले आज मङ्गलवार बनेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई चुनावमा जिताउन मात्रै नभइ देशलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताउनुभएको हो ।

‘गठबन्धन देशको आवश्यकता हो, गठबन्धनको निर्माणपछि संविधान र लोकतन्त्रको रक्षा भइ देश विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ’, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो ।

उहाँले आउँदा दिनमा गठबन्धन कायम राख्दै आउँदो चुनाव प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा अगाडि बढिरहेको बताउनुभयो ।

मन्त्री कार्कीले निर्वाचनपछि पनि गठबन्धनको साझा अवधारणाअनुरूप अगाडि बढेर देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानको रक्षा, देशमा कानुनी शासनको प्रत्याभूति र सुशासनलाई यो सरकारले आफ्नो प्रमुख कार्यभारको रूपमा अङ्गिकार गर्दै देशलाई त्यही दिशातर्फ अघि बढाएको छ ।’

देशलाई राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिको दिशामा देशलाई लैजान यो सरकार गठन भएको उहाँको जिकिर थियो ।

गठबन्धनको चुनावी तालमेल कार्यदलले के के गर्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले कार्यदलको बैठक सुरु भइ सकारात्मकरूपमा अघि बढेकाले कार्यदलले कसरी, कुन कुन पार्टीलाई एकजुट बनाएर लैजाने भन्ने छलफल गरेर छिट्टै शीर्षस्थ नेतृत्वलाई प्रतिवेदन दिन्छ भन्नुभयो ।

मन्त्री कार्कीले देश पालिका चुनाव सम्पन्न गरी प्रदेश र प्रतिनिधि सभाको चुनाव उन्मुख भएको उल्लेख गर्दै त्यस चुनावले लोकतन्त्रको जगलाई अझ बलियो बनाएको दाबी गर्नुभयो ।

उहाँले पालिका चुनावमा झैँ शान्तिपूर्ण, निष्पक्ष र निर्भय ढङ्गले आउँदो मङ्सिर ४ गते सम्पूर्ण नागरिकले स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ मतदानमा भाग लिनु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले फरक प्रसङ्गमा नेपाल दक्षिण एसियामा नै कोभिडविरुद्धको खोपमा अग्रणी देशका रूपमा स्थापित भएको बताउनुभयो । कार्यक्रम युनियनका जिल्लाध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।

 

प्रतिक्रिया