हाम्राे पार्टी गठबन्धनकै अङ्ग हाे : बाबुराम भट्टराई

admin

काठमाडौँ, ३१ साउन : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे पार्टी पनि गठबन्धनकै अङ्ग भएकाे दाबी गर्नुभएकाे छ ।

आज मङ्गलवार माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि भट्टराईले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अङ्ग हो । भित्र–बाहिर भन्ने कुराको भ्रम नपरोस् । जे सहमति हुन्छ, त्यहीअनुसार चुनाव लड्छौँ ।’ नेता भट्टराईले नेकपा (माओवादी) केन्द्रसँगको सहकार्य चुनावका लागि मात्रै भएको पनि बताउनुभयाे ।

उहाँले पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेन्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उल्लेख गर्नुभयो । उहाँले मिलेर र नयाँ आधारमा एकताबद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आउँदाे प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथाैडा लिएर प्रतिस्पर्धा गर्ने सहमति भएकाे छ ।

तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो । आउँदा दिनमा वृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने हाम्राे सङ्कल्प छ ।’

प्रतिक्रिया