नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन

admin

काठमाडौँ, १६ मङ्सिर : विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नामिबियाबीचकाे खेल नतिजाविहीन भएकाे छ । वर्षाका कारण खेल नतिजाविहीन भएकाे छ ।

नेपालले दिएकाे एक सय ९८ रनकाे लक्ष्य पछ्याएकाे नामिबियाले ४ बलमा चार रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि फेरि खेल सुरु नसकेपछि नतिजाविहीन भएकाे हाे ।

याेसँगै दुवैले एकएक अङ्क बाँडेका छन् । नेपाल २१ खेलमा १८ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ भने २८ खेल खेलेकाे नामिबिया ३३ अङ्कसहित चौथो स्थानमा छ ।

यसअघि वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए । यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् । नेपालले पर्सि आइतवार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । सात वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।

प्रतिक्रिया