काठमाडौँ, २० मङ्सिर : नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बाट सिक्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका छन्।
महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क पनि गरे।
गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अव भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए। त्यस अवसरमा महासचिव भुसालले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको बताउँदै भविष्यमा पनि राम्रो काम गर्ने विश्वास लिए।
‘उहाँ आफैले भन्नु भएको छ–राजनीति सेवा हो। जनसेवा हो। निःसर्त रुपमा गरिने जनसेवा हो। त्यो जनसेवामा एक्लै बसेर हुँदैन। पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ। म यहाँहरुसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरु गर्ने गरिएको पाइन्छ’, उनले भने, ‘तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छेनै हो, जसले राम्रो काम पनि गर्छ। कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ। मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन। विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि। त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ। भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ। राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ। त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ।’
उनले समाजमा कयौँ मान्छे बाटो बिराएर हिँड्ने गरेको पनि बताए। ‘समाजमा भएको अरु पनि विगतमा कहिलेकाहीँ बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ’, उनले भने, ‘ एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाइसक्नु भएको छ। त्यसबाट सिक्नुपर्छ। उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ। यसरी अघि बढने प्रतिवद्धतासाथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु।’