ट्रयाक्टर दुर्घटना : एक मृत्यु, तीन जना घाइते

admin

उदयपुर, २३ मंसिर : सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।

गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका–६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । किराना पसलको सामान लिएर रसुवा जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा रौतामाई गाउँपालिका–४ निकासका चालक २३ वर्षीय डम्बरबहादुर आचार्य, त्रियुगा नगरपालिका–११ बेलदोभानका सहचालक १७ वर्षीय रोमन मगर र ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका–३ मिलनचोकका ३५ वर्षीय पुरुषोतम कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए ।

उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

प्रतिक्रिया