महेन्द्रनगर, १ माघ : पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ ।
विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो ।
माघी मनाउन आमाछोरा काठमाडौँबाट पोखरा उडेका थिए भने व्यापारी भट्ट पोखरामै हुनुहुन्थ्यो । उहाँका आफन्तजन पनि जागिरको सिलसिलामा पोखरामा रहेको र सँगै माघी मनाउने योजनाअनरुप पोखरामा पारिवारिक जमघटको तयारी थियो । १५ वर्षीय स्लक काठमाडौँमा एक क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको पहिलो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।
उहाँको निधनले महेन्द्रनगरवासी शोकमा डुबेका छन् । यहाँका व्यापारी÷व्यवसायीले महेन्द्रनगरस्थित मदन चोकमा शोकसभासमेत आयोजना गरेका थिए ।
सोमबार १२ बजे सम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वरप्रसाद बोहराले बताउनुभयो ।