काठमाडौँ, ४ माघ : नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको छ ।
आज यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उहाँले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको हो । मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गर्नुभएको थियो ।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन आज सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा पनि छलफल गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस अवसरमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा क्षेत्रको समग्र विकासका लागि आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न आफूले अभिभावकीय भूमिकामा रहेर सकारात्मक वातावरण तयार गरिदिने र अन्तरमन्त्रालय समन्वय सहज बनाउन पहल गर्ने विषयमा पनि जलविद्युत् उद्यमीलाई आश्वस्त तुल्याउनुभएको थियो । सो प्रतिनिधिमण्डलमा एनआरएनका अध्यक्षहरू रविना थापा, बद्री केसी र कुल आचार्य, पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत हुनुहुन्थ्यो ।