पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै

राष्ट्रिय समाचार समिति

काभ्रे, ११ माघ : काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।

पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो ।

“मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो । हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ ।

स्थानिय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिन सो कार्यक्रमले महिला उद्यमशिलता विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवार बताउनुहुन्छ ।

यसका लागि पाँचखाल–७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने योजना छ । औद्योगिक ग्राम सञ्चालनपछि रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने नगरप्रमुख खरेलले बताउनुभयो । “जमिन सम्याउने र पहँुच मार्ग निर्माणको काम सकिएको छ”, उहाँले भन्नुभयो ।

हरित ग्राम निर्माणका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ, नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भएको हो । प्रारम्भिक चरणमा रु ६० लाख विनियोजन गरिएको थियो ।

बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका पाँच स्थानीय तहमा आर्थिक वर्ष २०७६÷७७ मा सरकारले औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, दोलखा र चितवनमा एक÷एक औद्योगिक ग्राम निर्माण गर्न सरकारले ९२ लाख बजेट छुट््याएको थियो । रासस

प्रतिक्रिया