सुर्खेत, १४ फागुन: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउनुभयो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारणसभा पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको हो ।
साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् ।
साधारणसभाको बन्दसत्रमार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।