पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन

admin

इलाम, २३ फागुन : पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ ।

स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउजाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाले अध्यागमन कार्यालय उद्घाटन गरेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘पूर्वी पहाडको यो ढोका पर्यटकको मात्र होइन, मुलुककै विकास र समृद्धिको ढोका हो ।’ तर उनले यस्तो भनेको तीन वर्षको अन्तरालमा कार्यालय खुलेर कर्मचारी पदपूर्ति भइसके पनि सेवाप्रवाह भने हुन सकेको छैन ।

भारतपट्टि यही प्रकृतिको कार्यालय नखुल्दा पशुपतिनगरको अध्यागमन कार्यालय कामविहीन भएको हो । उता कार्यालय नहुँदा नेपाल घुम्न आउन चाहने भारतीय र नेपालबाट भारततिर जान चाहने तेस्रो मुलुकका पर्यटकले सास्ती खेप्नुपरेको छ । यहाँसम्म पुगेका पर्यटक सीमापार गर्न नपाउँदा झापाको काँकरभिट्टा धाउन बाध्य छन् ।

कार्यालयमा शाखा अधिकृतस्तरका प्रमुख छन् । यहाँ काम नभएपछि उनी काँकरभिट्टा कार्यालयमै बस्छन् । दुई नायब सुब्बा, एक खरिदार, एक सहायक कम्प्युटर अधिकृत, एक सहायक लेखापाल र दुई कार्यालय सहयोगीको दरबन्दी यस कार्यालयमा छ । ती दरबन्दीमध्ये सबैजसो पदपूर्ति भएको छ तर कार्यालयको सेवा भने ठप्प छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया