गैरजिम्मेवार अभिव्यक्तिले सभामुख विवादमा

admin

काठमाडौँ, ५ चैत : पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन् ।

सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल पत्रकार महासंघका प्रतिनिधि सभामुख घिमिरेलाई भेट्न शुक्रबार उनको कार्यकक्षमा पुगेका थिए ।

‘पत्रकारहरू बिक्रीमा छन्’, महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले भनेका थिए, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू ।’

स्वतन्त्र प्रेसविरुद्ध मुलुकको संघीय प्रतिनिधिसभाका प्रमुखले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल बाँडिएको छ ।

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिकै निरन्तरताका रूपमा घिमिरेले दिएका अभिव्यक्तिलाई समेत जोडेर प्रचार गरिएको छ ।

विशेष गरी प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस जगत्ले गरेको निरन्तरको आलोचनाबाट आक्रोशित नेताहरू, मुलुकमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा दिएको योगदानबाट असन्तुष्ट राजावादी र अहिलेको परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू स्वतन्त्र प्रेसको विपक्षमा जमेर लागेका छन् ।

स्वतन्त्र प्रेसविरुद्ध झुटा कुरा फैलाएर सर्वसाधारणमा भ्रम पार्ने तत्व पनि सभामुख घिमिरेका अभिव्यक्तिबाट उत्साहित भएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया