घरबारी बेचेर क्यान्सर उपचार

admin

काठमाडौं, चैत ९ : नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।

यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।

अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपियाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् । घरायसी बचतबाट उपचार गर्ने २७.२, व्यापार गरेर क्यान्सर उपचार गर्ने २२.३, दैनिक ज्याला मजदुरीबाट क्यान्सर उपचार गर्ने ११.७, सरकारी सेवामा कार्यरत ८.७ र वैदेशिक रोजगारीमा सहभागी ८.७ प्रतिशतले क्यान्सर रोगको उपचार गरिरहेका छन् ।

६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको पाइयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरका कारण बिरामी तथा बिरामीको आफन्तको गुमेको आय अध्ययनमा समेटिएको बताउनुभयो ।

उहाँले बिमा सुविधाले क्यान्सरको उपचार खर्च नसमेटेको हुनाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सरकारले क्यान्सरको उपचारका लागि एक लाख रुपियाँ अनुदान दिने व्यवस्था गरे पनि उक्त खर्च मेडिकल खर्चको एक चौथाइभन्दा पनि कम रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत हुनुपर्ने भनी सिफारिस गरे पनि नेपालमा सोहीअनुसार करको दायरा बढ्न सकेको छैन ।

अनुसन्धानमा सहभागी सदस्य भरतविक्रम शाहले अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगले हुने क्यान्सर रोगका बिरामीको औसत उमेर ५३.५ वर्ष रहेको देखाएको जानकारी दिनुभयो । उहाँले एक चौथाइ सुर्तीजन्य पदार्थको प्रयोगबाट भएको क्यान्सर बिरामी ५५ देखि ५९ उमेर समूहअन्तर्गत रहेको जानकारी दिनुभयो ।

अध्ययनअनुसार झन्डै ४६ प्रतिशत बिरामी निरक्षर पाइएको थियो । १.९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका थिए । निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको प्रयोगले गर्दा हुने क्यान्सर बढी भएको पाइएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया