चुनौतीका चाङमा जिम्मेवारी सम्हाल्दै नयाँ आईजीपी

admin

काठमाडौं , चैत १२ : नेपाल प्रहरीको ३०औं महानिरीक्षक (आईजीपी) मा बढुवा भएका वसन्तबहादुर कुँवरले आइतबार कार्यभार सम्हालने भएका छन् ।

२९ औं आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवावधिका कारण शुक्रबार मध्यरातबाट अवकाशमा गएका छन् । सिंह अवकाशमा जानुअघि शुक्रबार दिउँसो मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआईजी पोषराज पोखरेलले नयाँ आईजीपीले आइतबार पदभार सम्हाल्ने जानकारी दिए । कुँवरले आइतबार गृह मन्त्रालयमा गएर आईजीपीको दर्ज्यानी चिन्ह ग्रहण गर्नेछन् । त्यसपछि उनले प्रहरी प्रधान कार्यालय पुगेर पदभार सम्हाल्ने प्रवक्ता पोखरेलले बताए ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने, अपराध न्यूनीकरण, अनुसन्धान र तहकिकात गर्ने, मानवअधिकार संरक्षण गर्ने, सरकारका आदेश, निर्देशन र कानुन परिपालन गरी जनतालाई प्रत्यक्ष रूपमा राज्यको अनुभूति दिलाउनेलगायतका भूमिका निर्वाह गर्ने दायित्व भएको प्रहरी संगठन र नेतृत्वप्रति सबै पक्षबाट चासो र निगरानी हुन्छ । संगठनको नेतृत्वमा पुग्ने सपना प्रहरी सेवामा प्रवेश गर्ने सबैको भए पनि थोरैले मात्र यस्तो अवसर पाउँछन् ।

यसका लागि अनेक तिकडमबाजी, जालझेलसमेत भएको इतिहास छ । तर यसपटक कुँवरले भने तुलनात्मक रूपमा सहज र कतिपय जानकारहरूका अनुसार ‘सरप्राइज’ नेतृत्व पाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

प्रतिक्रिया