काठमाडौँ, २५ चैत : सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ ।
शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाउनुभएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गर्नुभएको थियो ।
तर प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने यस बिषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । बैठकपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी , संवैधानिक परिषद् र सम्पती शुद्धिकरण सम्बन्धी बिधेयकलाई छिटो टुङ्गो लगाउने बिषयमा छलफल भएको बताउनुभयो ।
उहाले आफुहरुले फास्ट ट्र्याकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानुपर्नेमा जोड दिएको जानकारी दिनुभयो ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई सहज रुपमा अघि बढाउने लगाएतका बिषयमा सकारात्मक रुपमा कुराकानी भएको जानकारी दिनुभयो । उहाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याक भन्दा पनि समितिमा लैजानुपर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले सकारात्मक छलफल भएको जानकारी दिनुभयो । त्यस्तै सभामुख घिमिरेले नेताहरुको बीचमा सवै बिषयमा सहमति खोज्नका लागि छलफल भएको बताउनुभयो । उहाले सवै बिषयमा सकारात्मक छलफल भएको बताउनुभयो । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने बिषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरुले जनाएका छन् ।