काठमाडौँ, जेठ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताउनुभएको छ ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुबर्षिय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताउनुभएको हो ।
नीति तथा कार्यक्रममा समावेश बिषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उहाले टिप्पणी गर्नुभयो । उहाले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केहि संकेतहरु पनि सन्तोषजनक नरहेको बताउनुभयो ।
सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई बिकास गर्ने बिषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उहाले बताउनुभयो ।
मिठा मिठा शव्दले नीति कार्यक्रम पूर्ण नहुने भन्दै उहाले समाजप्रति गम्भीर नभई कार्यक्रम आएको उल्लेख गर्नुभयो । उहाले अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सवलीकरण गर्ने बिषय समावेश नभएको जिकिर गर्नुभयो । अहिलको अवस्थामा खर्च घटाउने भनेपनि कसरी घटाउने भन्ने बिषय पनि कार्यक्रममा नभएको उहाको भनाइ छ ।
उहाले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक,सामाजिक, राजनीतिक समस्या पहिल्याउन नसकेको भन्दै यसको संसदमा यसको विरोध गर्न सांसदहरुलाई निर्देशन दिनुभयो । उहाले सरकारको कार्यक्रमलाई पास हुन दिन नहुने बताउनुभयो ।