नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस अर्को हप्तासम्मै चल्ने

admin

काठमाडौँ, २२ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजोदेखि सुरु भएको थुनछेक बहस अर्को हप्तासम्मै चल्ने भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन हिजो सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतका अभियुक्तलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलहरूले थुनछेक बहस गरेका हुन् ।

उनीहरुविरुद्ध सरकारी वकिलले आज र भोलिसम्म बहस गर्ने तयारी छ । त्यसपछि प्रतिवादीका वकिलले प्रतिरक्षा गर्नेछन् ।

खाणको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती तथा रायमाझीको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमेश बडाल लगायतले प्रतिरक्षा बहस गर्ने तयारी गरेका छन् ।

अर्को हप्तासम्म थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय हुनेछ ।

प्रतिक्रिया