काठमाडौँ, २५ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजिरहेको बताउनुभएको छ ।
बिहीबारबाट भक्तपुरमा सुरु भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पछिल्लो समय उत्पीडित जाति र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेको र यसबाट फाइदा लिदै धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरु गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेको बताउनुभयो ।
रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, जातीय/ भाषिक पहिचा नका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थीरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गएको उहाले बताउनुभयो ।
उहाले दुईपटकको आमनिर्वाचनपछि पनि देशमा राजनीतिक स्थीरता कायम हुन नसकेका कारण सुशासन र आर्थिक–सामाजिक रुपान्तरण हुन नसकेको बताउनुभयो । उहाले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको काम छिटो सम्पन्न गर्न जरुरी रहेको भन्दै यस्तो हुन नसके देशमा अर्को द्वन्दको खतरा मडारिन सक्ने तर्क गर्नुभयो ।
लोकतन्त्रका यी आधारशिलामा टेकेर मात्र समृद्धि र समाजवादको दिशामा अघि बढ्न सकिने भएकाले यस बिषयमा पार्टीको बैठकले बिशेष निर्णय गर्ने उहाले जानकारी दिनुभयो । उहाले स्थापीत कम्युनिष्ट ब्रान्डका दलहरु र भुल्काका रुपमा आएका नयाँ दलहरु आफ्नो दलबीच के फरक छ भन्ने कुरा पनि बैठकले स्पष्ट पार्ने जिकिर गर्नुभयो ।
राजनीतिक प्रतिवेदनमा भट्टराईले राष्ट्रिय जनता पार्टी सँग एकता गरेर जसपा निर्माण गर्ने कार्य सैद्धान्तीक रुपमा सही भएपनि वैचारिक–राजनीतिक कारण एकता कायम गर्न नसकिएको उल्लेख गर्नुभएको छ । दुई दिनसम्म चल्ने बैठकले पार्टीको भावी रणनीति तय गर्ने बताइएको छ ।