गर्मीले कतै स्कुल बन्द, कतै प्रार्थना स्थगित

admin

काठमाडौं, २८ जेठ: अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ ।

स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौँमा पढाइ बन्द नभए पनि बिहानको समयमै अत्यधिक गर्मी भएपछि केही विद्यालयले बिहानको प्रार्थना सभा बन्द गराएका छन् । तनहुँ, गोरखा, धादिङलगायत पहाडी क्षेत्रमा समेत गर्मीका कारण विद्यालय बन्द भएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मबहादुर मल्लले आफ्नो अवस्था हेरेर विद्यालय बन्द गर्न सकिने निर्णय गरिएको जानकारी दिनुभयो । एकै गाउँपालिकामा पनि भौगोलिक अवस्था अनुसार तापक्रम फरक फरक हुने हुनाले यस्तो निर्णय गरिएको हो ।

नुवाकोटको विदुर नगरपालिकाका शिक्षा अधिकारी देवीप्रसाद अधिकारीले गर्मीका कारण विद्यार्थी, शिक्षक समस्यामा परेको विषयमा छलफल भए पनि कति दिन विद्यालय बन्द गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या परेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि गर्मीका कारण विद्यार्थीको पढाइमा असर परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय बन्द गर्ने विषयमा सम्बन्धित स्थानीय तहले निर्णय गर्न सक्ने भएकाले आफूहरूको निर्देशन आवश्यक नपर्ने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया