काठमाडौं, २८ जेठ: सरोकारवालाहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टोम (एमडिएमएस) प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
मोबाइल फोन इम्पोर्टस एशोसिएशन र नेपाल मोबाइल वितरक संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले मोबाइल सेटको अनधिकृत आयात र प्रयोगलाई रोक्न लागू गरिएको एमडिएमएस प्रणालीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडिएमएस प्रणाीका कारण मोबाइल फोनको अवैध कारोबार तथा बिक्री वितरण नियन्त्रणमा आउने र राजस्वमा पनि सहयोग पुग्ने बताउनुभयो ।
उहाले उक्त प्रणालीका कारण मोबाइल हराउदा पनि अनधिकृत व्यक्तिको प्रयोग भन्दा पहिले नै बन्द गर्न मिल्ने समेत बताउनुभयो । उहाले चोरी भएका, हराएका, भन्सार नतिरेर ल्याइएका अवैध मोबाइल नियन्त्रणका लागि एमडिएमएस लागू गरिएको बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले अवैध मोबाइलको प्रयोगमार्फत हुने अपराधलाई रोक्न पनि एमडिएमएस प्रणाली महत्वपूर्ण रहेको बताउनुभयो ।
मोबाइल फोन इम्पोटर्स एशोसिएशन अध्यक्ष दीपक मल्होत्राले अहिले पनि करिब रु १५ अर्ब बराबर भन्सार नतिरेका मोबाइल फोन अहिले अनधिकृत रुपमा बिक्री वितरण भइरहेको बताउनुभयो । उहाले अवैध रुपमा भित्रिएका मोबाइलका कारण सरकारले वार्षिक रु तीनदेखि चार अर्ब राजस्व गुमाइरहेको जानकारी दिनुभयो ।