जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित छैन : प्रमुख निर्वाचन आयुक्त

admin

काठमाडौं, २९ जेठ: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च कटौतीका नाममा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव उचित नरहेको बताउनुभएको छ ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा थपलियाले संविधानमा उल्लेखित आयोगको अधिकारक्षेत्रलाई सरकारको बजेटका माध्यमबाट परिवर्तन गर्न नमिल्ने भन्दै खर्च कटौतीका नाममा कार्यालय खारेजीको प्रस्ताव अव्यवहारिक र संविधान प्रतिकूल हुने बताउनुभएको हो ।

अहिले आफ्ना ४२ वटा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भइरहेको र अन्य स्थानको भाडा वापत २ करोड खर्च हुने गरेको भन्दै उहाले आयोगको खर्च कटौतिका कारण आर्थिक व्यवस्था सुधार हुने भए अरु शिर्षकबाट २ करोड छाड्न तयार रहेको बताउनुभयो ।

उहाले संवेदनशिल बिषयमा हचुवाका भर निर्णयमा पुग्नु उचित नहुने धारणा राख्दै अरु पनि सुधारका काम गर्नुपर्ने भए आयोग तयार रहेको उल्लेख गर्नुभयो । थपलियाले यो बिषयको उठान कसरी रह्यो भन्ने बिषयमा आयोगको चासो रहेको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्चाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा समिति सभापति दिलकुमारी रावलले निर्वाचन कार्यालय खारेजीका बिषयमा गृहमन्त्रालयसंग छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया