शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ

admin

काठमाडौं, ३२ जेठ: भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सवै दोषीहरुलाई कारबाही गर्नुपर्ने लगाएतका माग राख्दै संसद भवन अगाडी प्रदर्शन गर्ने केहि अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव अधिकार तथा शान्ति समाजको आह्वानमा विहीवार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर भन्ने आह्वानसहित प्रदर्शन गरेको थियो ।

त्यस्तै चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह पनि गरेको छ ।

प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँन मधेशमारा नीति चाहिदैँन, शिर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन? लगाएतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा. केदारनरसिह के.सी, उत्तम पुडासैनी, चन्द्रमणी बञ्जारा लगाएत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया