काठमाडौं, असार ९ : सत्तारुढ दलका नेताहरुले वर्तमान सरकार परिवर्तन हुने संभावना नरहेको बताएका छन् । रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको समेत बताएका छन् ।
साक्षात्कारमा नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभयो ।
उहाले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी गर्दै सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नभएको दाबी गर्नुभयो । उहाले बजेटबारे अर्थमन्त्री र प्रधानमन्त्रीलाई उठेका विषयमा सम्बोधन गर्ने ठाउँमा जानुपर्ने सुझाव दिनुभयो भने देशमा विद्यमान सबैखाले समस्याको हल गर्न प्रमुख दलहरु गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कांग्रेसका नेता रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरुको कुनै तयारी र योजना नरहेको स्पष्ट गर्नुभयो । उहाले कांग्रेस एमालेसँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिनुभयो । उहाले अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकोले आफूहरु गठबन्धनको कल्चरमा गएको बताउनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले नेपालको इतिहासमा एउटै पार्टीले बहुमत ल्याएको भएपनि बहुमतको पार्टीेले देश निर्माण र अवधि पुरा गर्न नसकेपछि गठबन्धन र मोर्चाको आवश्यकता अनुभूत भएको बताउनुभयो । पाण्डेले मुलुकको समृद्धिका निम्ती यो गठबन्धन बनाएको र अहिलेको गठबन्धनमा तलमाथि गरेको खण्डमा जनताले छुट नदिने उल्लेख गर्नुभयो ।
यता नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको टिप्पणी गर्नुभयो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उहाको टिप्पणी छ ।
उहाले नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने बताउनुभयो । सत्ता गठबन्धनको रुपान्तरण र परिवर्तनको आवश्यकता भएको उहाको दावी छ ।