काठमाडौं, असार ९ : कैलालीमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आज (शनिबार) पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकलमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा १९ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेमा दुर्घटनामा ट्रकचालक जोशीपुर गाउँपालिका–५ का ३५ वर्षीय बालकृष्ण चौधरी, बसचालक बैतडीको पाटन नगरपालिका–७ का ३८ वर्षीय तेजसिंह ठगुन्ना, सहचालक गोदावरी नगरपालिका–२ का ४० वर्षीय बिर्खबहादुर राना मगर रहेका छन्।
बसमा सवार टिकापुर नगरपालिका–१५ बस्ने ४२ वर्षीया यसोदा कठायत, सुर्खेतका ७० वर्षीया मोति मिजारा, घोडाघोडी नगरपालिका–१ का ५१ वर्षीय प्रेमलाल चौधरी, टिकापुर नगरपालिका–३ की ३५ वर्षीया पुष्पा सिर्पाली, १० वर्षीय जोन सिर्पाली, घोडाघोडी नगरपालिका–१० की २३ वर्षीया चित्रा शाही, बर्दगोरिया गाउँपालिका–६ की २५ वर्षीया मिना बम, उनकी एक वर्षीया छोरी सरस्वती, घोडाघोडी नगरपालिका–१० का २१ वषीय रुपेश शाही, टिकापुर नगरपालिका–१ की ३५ वर्षीया कमला रावल भण्डारी घाइते भएका छन्।
बर्दियाको राजापुर नगरपालिका–३ की २२ वर्षीया सुष्मा चौधरी, उनका एक वर्षीय छोरा कायरन चौधरी, टिकापुर नगरपालिका–४ का ४ वर्षीय सलुन भण्डारी पनि घाइते छन्।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको छ। ट्रक चालक चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल बाँके लगिएको छ भने बस चालकको धनगढीमा उपचार भइरहेको छ।
शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मदिरा बोकेको गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म १ ख ९०९ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।