Home

समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी छः विद्यादेवी भण्डारी

admin

काठमाडौं, असार १४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिक रुपमा केहि संरचनात्मक परिवर्तन भएपनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको र समाज रुपान्तरणको अभिभारा पुरा गर्न पनि धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभएको हो । उहाले जनताको बिचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा रहेको भन्दै अविचलितरुपमा समाजको रुपान्तणका लागि अघि बढिरहने जिकिर गर्नुभयो ।

उहाले भोकमरी र गरिबी नहटेसम्म विकास र मानवअधिकारले कुनै सार्थकता नपाउने धारणा राख्नुभयो । ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरिएको थियो । पुरस्कारमा जनही रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

 

प्रतिक्रिया