काठमाडौं, असार २८ : अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिवद्ध बताउनुभएको हो ।
उहाले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसंगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गर्नुभयो उहाले मुलुकभित्र प्राकृतिक प्रकोप लगाएत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शिर्षकमा बजेट राखिएको पनि बताउनुभयो ।
अर्थमन्त्री महतले आकस्मिक कोष र विविध शिर्षकमा राखिएको बजेट पूर्णरुपमा पारदर्शी हुने र यसको दूरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो ।
उहाले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकताम राखिएको जिकिर गर्नुभयो । उहाले लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केहि मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको धारणा राख्नुभयो ।