काठमाडौं, असार २८ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्टि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरुलाई सहज गराउदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताउनुभएको हो ।
मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताले समाजमा विद्यमान सवै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएकाले सम्मेलनमार्फत यसलाई थप स्थापीत गर्न उहाले सुझाव दिनुभयो । उहाले बिभेद अन्त्यका लागि नीति निर्माताबचि सहकार्य गर्न र संविधानमा रहेका अधिकार स्थापीत गर्न पनि जुट्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आदिवासी जनजातीको संस्कृति भाषा र रहनसहनलाई जिवित राख्नुपर्ने बताउनुभयो । उहाले आदिवासी जनजातीको अधिकारका लागि जोडदार आवाज उठाउनुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा शहरी बिकासमन्त्री सीता गुरुङले राज्यको हरेक निकायमा महिलाको समान अधिकार स्थापीत गर्ने भनेपनि पूर्ण हुन नसकेको गुनासो गर्नुभयो । उहाले पार्टीको सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने र टिकट बितरणमा पनि महिलाहरुलाई समाज सहभागीता गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका निर्वाचित आदिवासी जनजाती महिला प्रतिनिधि २०७९ पुस्तक बिमोचन गरिएको थियो ।