सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री दाहाल

admin

काठमाडौं, साउन १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको बताउनुभएको हो ।

उहाले भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको धारणा राख्नुभयो । सरकारको कदमले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ आह्वान गर्नुभयो । सरकार गठनको ७ महिनाको अवधिमा हासिल भएका उपलव्धीहरुले जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित भएको उहाको भनाइ छ ।

उहाले माधव प्रसाद मरहठ्ठाले नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः गोरखामा कम्युनिस्ट विचारको बिजारोपण एवं जनयुद्धको तयारी, घोषणा, विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया