संसदीय समिति सभापति चयन नगरिए बैठकमा नआउने एमालेको चेतावनी

admin

काठमाडौं, साउन १४ : नेकपा एमालेले संसदीय समितिले पूर्णता नपाए आगामी बैठकहरुमा सहभागीता नजनाउने चेतावनी दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समिति बैठकमा एमाले सचिव योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो ।

संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उहाँले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको दाबी गर्नुभयो ।

सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न नसक्ने भन्दै संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए यसपछिका कुनै पनि बैठकमा उपस्थित नहुने बताउनुभयो । संसदीय समितिका नेतृत्वमा प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा नमागेको उहाको भनाइ छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय समितिले नेतृत्व नपाउदा संसद र सांसदको गरिमा घटाउने काम गरेको र भविष्यमा नराम्रो नजिर बस्ने बताउनुभयो । उहाले छिटो भन्दा छिटो समितिको नेृतत्व प्रदान गर्न सत्तापक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

समितिका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले समितिको नेतृत्व चयनका लागि सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराइने बताउनुभयो । बैठकले समितिको आन्तरिक कार्यविधि पनि पारित गरेको छ ।

प्रतिक्रिया