सुन तस्करको कनेक्सन माओवादी नेतासम्मै, अनुसन्धान अवरुद्ध हुने खतरा

admin

काठमाडौं, साउन १५ : राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा राजनीतिक संलग्नता देखिएको छ ।

दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको छ । तर, यो प्रकरणमा सत्तारुढ माओवादी केन्द्रकै नेताहरूको संलग्नता देखिएकाले अनुसन्धान अवरुद्ध हुने खतरासमेत बढेको छ ।

सुन तस्करीको आरोपमा ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याएर कारोबार गराउने एजेन्ट भएको स्रोतको दाबी छ । उनको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए । दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए ।

उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । हालसम्म पक्राउ पर्नेहरूमा भरिया तथा सहयोगी मात्रै थिए तर आइतबार दावा पक्राउ परेसँगै यस प्रकरणका योजनाकारमध्येका एक पक्राउ परेको हुनसक्ने विश्वास विभागका अधिकारीहरूको छ । विभागका अधिकारीहरूले सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठूलैखालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आइरहेका थिए ।

दावालाई विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर पक्राउ गरेको थियो । सो होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको प्रहरीस्रोतको दाबी छ । यसअघि पनि सो होटलमा प्रहरीले छापा मारी विभिन्न आपराधिक घटनामा संलग्न चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको थियो ।

प्रहरी स्रोतकाअनुसार भियना होटल सञ्चालन गर्न मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग सम्झौता गरेको पाइएको छ । अमला माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुनुहुन्छ । उहाँले दुबै जनालाई विभिन्न सहयोग गर्दै आइरहेको पाइएको छ भने गरोहका सदस्य दावासहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पाइएको छ । घर्तीलाई त यो गिरोहले सभामुख भएकै बेला कार्यकक्षमै पुगेर भेटेको बताइएको छ ।

अमलाले दावासँग वैवाहिक सम्बन्ध गाँसेको बताइन्छ । मञ्जिल, अमला र दावाले होटल, रेस्टुरेन्ट चलाउन चिनियाँसँग मिलेर अन्य कम्पनी पनि खोलेको प्रहरीले जनाएको छ । सवारीसाधनका पार्टपुर्जाभित्र अवैध सुन मगाउने रेडी ट्रेडर्स यही गिरोहले नेपालीको नाममा दर्ता गरेको पाइएको छ ।

यसै गरी मञ्जिल, अमला, दावासहित चिनियाँ नागरिक चु जिलियाङ, चेन काइमु र चोङ गुआङपेङको नाममा छङ फङ होटल सञ्चालन गर्ने गरी २०७६ कात्तिकमा कम्पनी दर्ता भएको थियो । यो समाचार आजको नेपाल समचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया