काठमाडौं, साउन १७ : सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिमा असन्तुष्टि जनाउनुभएको छ ।
बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
उहाले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गर्नुभयो । असोजसम्म निर्माणसम्पन्न गर्ने भएपनि हिउदे अधिवेशनसम्म पनि सम्पन्न नहुने देखिएको उहाले बताउनुभयो ।
सभामुख घिमिरेले अहिलेको संसद भवनमा देखिएको समस्या नयाँ भवनमा सरेपछि समाधान हुने भनेपनि समयमा नै सम्पन्न हुन नसक्दा असहज भएको धारणा राख्नुभयो ।
छलफलका क्रममा विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले अहिले संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाले ३ अर्व ७७ करोडको भुक्तानी भइसकेको बताउनुभयो ।
सिंहदरबारभित्र कुल १ सय ७३ रोपनी ८ आना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना सहितको नयाँ संसद भवन निर्माण भइरहेको छ ।