रोल्पामा बस दुर्घटना : चारजनाको मृत्यु, ११ महिने शिशुसहित १५ जना घाइते

admin

काठमाडौं, साउन २३ : रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन् ।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रिची भन्ने ठाउँमा दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, डाँगीका श्रीमती ४६ वर्षीय हस्ता डाँगी, माडी गाउँपालिका २ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर बि.कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक प्रकाश भुसालले बताउनुभयो ।

शवलाई पोष्ट मार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरुको दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा अधिकांश रोल्पाको माडी गाउँपालिकाका रहेका छन् ।

यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही–१२ निवासी २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा चालकको लापरबाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । बस अनियन्त्रित भई बस घुम्तीसडकबाट करिब १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया