काठमाडौं, साउन २४ : नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारवाही हुने स्पष्ट पार्नुभएको छ ।
पार्टी प्रचार प्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुराउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानविन र कारवाही हुने स्पष्ट पार्नुभएको हो ।
निर्दोष नफस्ने र दोषी कोहि पनि नउम्कने गरि ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइवीलाई दिइएको उहाले बताउनुभयो ।
सापकोटाले सुन प्रकरण, ललिता निवास प्रकरण लगाएतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राख्नुभयो । केन्द्रीय समिति बैठकमा सवै सदस्यहरुले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उहाको भनाइ छ ।
त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केहि सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दावी गर्नुभयो । उहाले लगातार सदन अवरुद्ध हुदा स्तर खस्किदै गएपनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।