पहिचान पक्षधरलाई बहुमत दिनुस्, सदनबाटै प्रदेशको नाम फेर्छौं : प्रधानमन्त्री दाहाल

admin

काठमाडौं, साउन २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाङ्करण हुने बताउनुभएको छ ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाती महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसअघि आफुहरुले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको भन्दै आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाङ्करण हुने बताउनुभएको हो ।

उहाले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामाकरण गर्न सकिने धारणा राख्नुभयो । १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गर्नु अगाडि आफुले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उहाले बताउनुभयो ।

प्रचण्डले कोशी प्रदेश नामाकरण भइसकेपछि भएको आन्दोलनमा आफुले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा साहदात प्राप्त गर्नेलाई सहिदको घोषणा र क्षतिपूर्तिको पनि निर्णय गरेको तर्क गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले भगवती पाण्डेको अभिव्यक्तिका कारण पैदा भएको संवेदनशीलताप्रति सरकार गम्भीर रहेको भन्दै गृह र सम्बन्धीत प्रहरी अधिकृतलाई रोखर छलफल गरेपछि दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । नेपाल बहुभाषिक, बहुजातीय देश भएकाले कुनै पनि जाती भाषा संस्कृतिलाई अपमानीत गर्ने भाषा प्रयोग गर्नु सहन सक्ने कुरा नभएको उहाले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लैजाने स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानुन बनाएर छिट्टै लागू गराउने, संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया