काठमाडौं, ४ भदौं: नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय प्रदीप गिरिको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिनुभएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा समाजवादी चिन्तक, लेखक एवं कांग्रेसका निष्ठावान त्यागी नेता प्रदीप गिरीको पहिलो वार्षिकीमा आयोजित स्मरणसभामा देउवाले स्वर्गीय प्रदीप गिरिका कृतिहरुलाई पार्टीले प्रकाशित गरेर उहाको प्रेरणाबाट सिंगो पार्टी लाभान्वित हुनुपर्नेमा जोड दिनुभएको हो ।
स्वर्गीय गिरिका लेख र कुरा हेर्दा गणतन्त्रका लागि धेरै अघिदेखि नै मत जाहेर गर्ने व्यक्तिका रुपमा आफुले बुझेको उहाले बताउनुभयो । उहाले स्वर्गीय प्रदीप गिरि कहिल्यै नथाक्ने समाजवादी चिन्तक भएको पनि बताउनुभयो ।
त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसका पछिल्लो पुस्ताहरुलाई स्वर्गीय गिरिले हात समाएर साथ दिएको स्मरण गर्नुभयो । गिरिका संग्रहलाई प्रकाशन गरेर कांग्रेसमा आएका नयाँ पिढीलाई ज्ञान प्रदान गर्नुपर्ने उहाको भनाइ छ । क्यान्सरबाट पीडित नेता गिरिको उपचारका क्रममा एकबर्ष अघि भाद्र ४ गते निधन भएको थियो । गिरिले एक दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको छ ।