विद्युत व्यापार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

admin

काठमाडौं, ५ भदौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेशिय ट्रान्समिसन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

मंगलबार चितवनमा भरतपुर २२०/ १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको भन्दै यसका लागि अन्तरदेशिय ट्रान्समिसन लाईन विस्तार गरि विद्युत व्यापारलाई प्राथमिकता दिएको बताउनुभएको हो ।

हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको र बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको जिकिर गर्नुभयो । उहाले आफ्नो आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो ।

प्रतिक्रिया