वनमन्त्री महतोको दाबी– १०० दिनमा निकै महत्त्वपूर्ण काम भए

admin

काठमाडौं, १८ भदौं : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले मन्त्रालयमा आफु आएपछि निकै महत्वपूर्ण कामहरु भएको दावी गर्नुभएको छ ।

कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतोले नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाज र नियुक्ती) नियमहरु, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा भएको प्रकाशन भएको र उक्त संशोधनबाट वन सेवाअन्तर्गत संस्थागत हुनेगरी वातावरण समूह थप भएको र वन सेवाका पदनामाहरुमा समसामयिक सुधार गरिएको जानकारी दिनुभयो ।

खनिजजन्य वन पैदावारको राजश्व दरमा देखिएको दोहोरोपना हटाउने, बिभिन्न प्रजातिका बल्लाबल्लीको राजश्व दरमा पुनरावलोकन लगायतका विषयहरु समावेश भई वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरुमा सरलीकरण र सहजीकरण गरिएको उहाले बताउनुभयो ।

संरक्षित तथा प्राकृतिक सन्तुलन सहितको चुरे–तराई मधेश भू–परिधि क्षेत्रमा वातावरणीय वस्तु र सेवाको दिगो प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्नेलक्ष्य सहितका कामहरु आफुले गरेको मन्त्री महतोले दावी गर्नुभयो ।

उहाले २०८० जेष्ठ १० देखि हालसम्म उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको साथै काठ, दाउरा, जडिबुटी बिक्री तथा पर्यापर्यटन लगायतका क्षेत्रहरुबाट यस अवधिमा जम्मा २ अरव ७९ करोड ७१ हजार रुपैयाँ राजश्व संकलन भएको बताउनुभयो । मन्त्री महतोले मुलुकका निकुञ्जहरुलाई मुलुकको समृद्धिसंग जोड्नका लागि नियमावली परिमार्जन गर्ने तयारी भएको उल्लेख गर्नुभयो ।

मन्त्री महतोले वन, वन्यजन्तु, वनस्पति र जैविक बिबिधता संरक्षण र भू तथा जलाधार संरक्षण व्यवस्थापन, वातावरण संरक्षण व्यवस्थापन र जलवायू परिवर्तन न्यूनीकरण सम्बन्धी बिभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जिकिर गर्नुभयो ।

वन क्षेत्र, वातावरण क्षेत्र र जलवायु परिवर्तन सम्वन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकायबिच समन्वय गरी जलवायु वित्त व्यवस्थापनमा सक्रिय भुमिका खेलेको उहाको भनाइ छ ।

प्रतिक्रिया