काठमाडौं, कात्तिक १३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठकमा मन्त्री ज्वालले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैंका कारण केहि ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभएको हो ।
तिहार अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत कार्यसम्पन्न हुने उहाले बताउनुभयो । उहाले मुग्लीङ पोखरा, नागढुङ्गा लगाएतका सडकलाई प्राथमिकताका साथ अघि बढाइएको धारणा राख्नुभयो ।
सडकको स्तरोन्नतीका क्रममा केहि समस्या आएपनि त्यसलाई हल गर्दै व्यवस्थीत रुपमा अघि बढाइएने उहाले बताउनुभयो । उहाले चाडपर्वका बेला सहज रुपमा आवातजावतका लागि आवश्यक निर्देशन दिएको जानकारी दिनुभयो ।
बैठकमा समिति सदस्यहरुले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले बर्षौसम्म पनि एउटा पनि आयोजना सम्पन्न नहुदा त्यसको प्रभाव धेरै देखिएपनि सरोकारवाला गम्भीर हुन नसकेको बताउनुभयो ।
उहाले तोकिएको आयोजना समयमा नै नसकिदा म्याद थप्ने काम बन्द गर्नुपर्ने जिकिर गर्नुभयो ।अन्य समिति सदस्यहरुले चक्रपथ सुधार आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।