देश अभिभावकविही भयो, राजतन्त्र चाहिन्छ : कमल थापा

admin

काठमाडौं, कात्तिक १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अभिभावक विहिन भएको बताउनुभएको छ ।

शनिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देश अभिभावक विहिन भएकाले देशमा छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्रको खाँचो भएको बताउनुभयो ।

राजतन्त्रलाई अभिभावक र मोरलको रुपमा स्थापना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय संकटलाई समाधान गर्न देशमा राजतन्त्र अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो ।

देशमा राजतन्त्र कायम गरियो भने छाडातन्त्र, मनपरितन्त्र, विकृति, विसंगति हटाउन सकिने बताउनुभयो । देशमा सनातन हिन्दु धर्म पनि अति आवश्यक रहेको उहाँले बताउनुभयो । उहाले जनतामा अहिलेको मुलुकको आवश्यकताका बारेमा जानकारी दिन पार्टीले देशका बिभिन्न भागहरुमा सभाको आयोजना गर्ने बताउनुभयो ।

थापाले माघ र फाल्गुनमा मेची महाकाली यात्राका माध्यमबाट जनतामा जागरुप तुल्याउने कार्यक्रम राखिएको र फाल्गुन महिनादेखि आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाले विदेशीको दबाव र प्रभावमा निहित राजनीतिक स्वार्थको लागि बहुसंख्यक जनताको पहिचानलाई समाप्त पार्न खोजे देशमा द्वन्द्व सृजना हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया