काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको अनुभवको राम्रो समीक्षा गर्दै भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
उहाले विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्दै विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन समेत निर्देशन दिनुभयो ।
भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले खोज, उद्दार र उपचारको काम मूलभूत रुपमा पुरा गरेको जानकारी दिनुभयो ।
उहाले नेपाल प्राकृतिक विपदको जोखिममा रहेको देश रहेपनि चेतना अभिवृद्धि गर्न नसकेकाले अव त्यसमा गम्भीर रुपमा सोच्न जरुरी रहेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यसपटक एकद्वार प्रणालीबाट जाने र राहतमा हुने दुरुपयोग रोक्ने स्पष्ट पार्नुभयो । आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति अनुसार सरकार अघि बढ्ने उहाले बताउनुभयो ।
बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धारको काम लगभग पूरा भएको भन्दै राहतमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।