भूकम्प प्रभावितलाई सहयोग गर्न एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा समिति

admin

काठमाडौं, कात्तिक २० : नेकपा एकीकृत समाजवादीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा उद्धार, राहत लगाएतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धन बहादुर बुढा लगाएतसहितको अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो ।

बैठकले पार्टीको कार्यकर्ताबाट आर्थिक संकलन गरि सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ भने पार्टीका मन्त्रिहरु , सांसदहरु र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरुबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले माघको १४ देखि १८ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ भने पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीको मंगलबारबाट सुरु हुने चीन भ्रमणले दुईदेशको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास लिइएको खतिवडाले बताउनुभयो ।

त्यस्तै पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समिक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नेप्रति धन्यवाद प्रकट गरेको छ ।

 

प्रतिक्रिया