काठमाडौं, मंसिर १ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउने दुस्साहसलाई दृढताका साथ परास्त गर्ने बताउनुभएको छ ।
शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले लोकतान्त्रिक प्रणालीका बिरुद्ध आवाज उठाउन खोजेको भन्दै त्यसलाई दृढताका साथ परास्त गर्ने बताउनुभएको हो ।
उहाले अहिले देशलाई बर्वाद पार्ने राजाहरुको भक्तिगान गाउन थालेको र नारायणहिटी, भण्डारखाल, कोतपर्व मच्चाउनेहरुले संस्कारको कुरा गर्न थालेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । जाती भाषा धर्म सस्कृति एक भएको राष्ट्रिय गान गाउन थालेको र यसमा आम नागरिकको संस्कृति बोलेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै आफुले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरे र देशको सुरक्षा अवस्था सामान्य रहको जिकिर गर्नुभयो ।
उहाले कसैले भन्दैमा मुलुकको ऐतिहासिक परिवर्तन उल्टिन नसक्ने जिकिर गर्नुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने जिकिर गर्नुभयो । आफु प्रधानमन्त्री बन्दा एक महिना भए पनि राम्रो काम गर्छु भन्ने अठोट लिएको र ११ महिना सरकार अघि बढ्दा सुशासनको पक्षमा काम गरिरहेको उहाले बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको भन्दै प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन छिटै कार्यान्वयनमा आउने जानकारी दिनुभयो । उक्त ऐन कार्यान्वयनमा आउने बितिकै प्रदेश सरकार शक्तिशाली हुने र नागरिकले गणतन्त्रको अनुभूत गर्न सक्ने दावी गर्नुभयो ।