काठमाडौं,माघ ९: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
विश्व हिन्दु महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले गणतन्त्र , धर्मनिरपेक्षता, संघीयताका बिषयमा कांग्रेस सच्चिएर आए सहकार्य गर्न तयार रहेको बताउनुभएको हो । उहाले माओवादीको एजेण्डालाई कांग्रेसले सहिछाप गरेकाले मुलुक धर्मनिरपेक्ष हुन पुगेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले कांग्रेसले राप्रपालाई अछुत जस्तो व्यवहार गरेकै कारण राष्ट्रियसभा निर्वाचनमा एमालेसंग मिल्नुपरेको धारणा राख्नुभयो ।
उहाले आफुलाई हिन्दुवादी भन्नेहरुले नै राप्रपालाई मत नदिएका कारण राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापीत गर्न समस्या भएको बताउनुभयो । धर्म निरपेक्ष हुनुमा दलहरु र नेता भन्दा बाहुन क्षेत्री नै बढि दोषी भएको उहाको भनाइ छ ।
त्यस्तै उहाले भ्रष्ट नेताहरुका कारण राजनीतिप्रति जनतामा वितृष्णा जागेको पनि बताउनुभयो । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी लगाएतलाई सम्मान गरिएको थियो ।