काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानूपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको आरोप लगाउनुभयो ।
उहाले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलव्धी समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो ।
यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न भएको धारणा राख्नुभयो ।
उहाले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थीरता खोज्न नहुनेमा जोड दिनुभयो । उहाले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाउनुभयो ।