काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताउनुभएको छ ।
सोमबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताउनुभएको हो ।
बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरुले पनि यस बिषयमा धारणा राखिरहेका छन् । तर नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सवै मिलेर जाने र केहि टेन्सन नरहेको जिकिर गर्नुभयो ।
सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगाएतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
उहाले आर्थिक बिकास, आत्म निर्भर, पार्टीभित्रको श्रममा अधिकांशको जोड रहेको उल्लेख गर्नुभयो । सापकोटाले नेतृत्वका बिषयमा पनि सदस्यहरुले प्रश्न गरिरहेको उल्लेख गर्दै बैज्ञानिक बस्तुवादी निष्कर्ष आउने बताउनुभयो । स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।