सरकारद्वारा समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

admin

काठमाडौं । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ ।

मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्व ४८ करोड ५१ लाख ३७ हजार रुपैया फिर्ता गरिएको जानकारी दिनुभयो ।

त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोड भन्दा बढि रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्व ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैया बचतफिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताउनुभयो ।

उहाले संकटग्रस्त सहकारीमा भएको सम्पती बिक्रि, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पती लिलाम गर्ने निर्णय भएको धारणा राख्नुभयो ।

उहाले केहि सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गर्नुभयो । मन्त्री अधिकारीले हाल सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताउनुभयो । त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्व ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैया असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उहाले बताउनुभयो । कार्यक्रममा समस्याग्रस्त केहि सहकारीका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको थियो ।

प्रतिक्रिया